राजस्वको लक्ष्य प्राप्त गर्न अर्थमन्त्रालय सफल
6:33 AM![]() |
अर्थमन्त्रालयले प्रतिकूल परिस्थितिमा पनि अघिल्लो आर्थिक वर्षको राजस्वको लक्ष्य प्राप्त गर्न सफल भएको जनाएको छ । आर्थिक बर्ष २०७२÷७३ का लागि निर्धारित चार खर्ब ७५ अर्ब रुपैयाको राजस्व संकलनको लक्ष्य हासिल गर्दै थप सात अर्ब रुपैया संकलन भएको हो ।
अघिल्लो आर्थिक बर्षको राजस्वको लक्ष्यबारे जानकारी दिन अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विष्णुप्रसाद पौडेलले आत्मविश्वासका साथ निष्ठापूर्वक काम गर्दा गन्तव्यमा पुग्न सकिने दृष्टान्त सङ्कलित राजस्व रकमबाट पुष्टि भएको बताउनुभयो । उहाँले राजस्वका लक्ष्य हासिल गर्नुलाई भन्दा प्रतिकूल परिस्थितिमा पनि चुनौती पन्छाउँदै गन्तव्यमा पुग्न सफल हुनुलाई उपलब्धिका रुपमा चित्रण गर्नुभयो ।
सरकारले आर्थिक वर्ष २०७१÷०७२ को तुलनामा आर्थिक वर्ष ०७२÷७३ मा १९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले राजस्व असुलीमध्ये कर राजस्वतर्फ चार खर्ब २२ अर्ब १६ करोड रुपैया तथा गैर राजस्वतर्फ ६० अर्ब दुई करोड रुपैया संकलन भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष कर राजस्वको संरचनामा सकारात्मक परिवर्तन आएको जानकारी दिँदै मन्त्री पौडेलले आयकरतर्फको संरचनात्मक अनुपातमा करिब तीन प्रतिशत बढेको बताउनुभयो ।
कर राजस्वको संरचनामा आयकरतर्फको अनुपात बढ्नुले कर सुधारको प्रक्रिया ठीक दिशातर्फ अगाडि बढिरहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । आयकरतर्फ गत आवको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको जानकारी दिँदै उहाँले संस्थागत आयकर तथा पुँजीगत लाभकरको उल्लेखनीय वृद्धि भएको, मूल्य अभिवृद्धि करतर्फ अघिल्लो आवको तुलनामा गत आवमा १५ प्रतिशतको वृद्धिदर हासिल भएको जानकारी दिनुभयो ।

![]() |
0 comments