यसरी बन्दैछ भैरहवा मुलुककै नमूना शहर
5:18 AM![]()
![]() |
२४ वैशाख, भैरहवा । एउटा यस्तो समय थियो, भैरहवा भन्ने वित्तिकै मानिसहरु नाक खुम्च्याउँथे । भत्किएका साँघुरा सडक, फोहोरै फोहोर, अव्यवस्थित शहर मच्छेडको खानी, यहाँको पहिचान थियो । तर, अहिले अवस्था ठ्याक्कै उल्टो भएको छ ।
अब भैरहवाले मुलुककै नमूना शहरको पहिचान बनाउँदैछ । फराकिलो ६ लेनको चिल्लो सडक, सडक छेउमा हरियाली, सफा तथा व्यवस्थित शहर, अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटकको प्रमुख प्रवेशद्वार, व्यवस्थित रंगशाला, तारे होटलहरु यहाँको पहिचान बन्दैछन् । अहिले भैरहवा आउनेले नाक खुम्चाउँदैनन्, गौरवका साथ भैरहवाको नाम लिन्छन् ।
अहिले भइरहेको पूर्वाधार निर्माणको काम सम्पन्न हुँदा भैरहवा मुलुककै नमुना शहर बन्नेछ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा ठूला परियोजनाहरु बनिरहेका छन् । यस्तो लाग्छ, देशको विकास भैरहवा तथा लुम्बिनी क्षेत्रबाट सुरु हुँदैछ ।
अहिले भैरहवाको विकास देख्दा सबै चकित हुन्छन् । भैरहवाको सरसफाइदेखि पूर्वाधार विकाससम्मको काम तिब्ररुपमा भइरहेको छ । अवको ३/४ वर्षभित्र भैरहवा मुलुककै आकर्षक र विकसित शहर बन्ने निश्चित छ । अहिले नै भैरहवा शहरले काँचुली फेरिसकेको छ ।
भैरहवामा अहिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । यो भैरहवाको गहना बन्ने स्थानीय बुद्धिजीवी बताउँछन् । भैरहवा बुटवल जोड्ने ६ लेनको व्यापारिक सडक यहाँको अर्को महत्वपूर्ण गहना हो । दुवै परियोजना भैरहवाको विकास तथा समृद्धिको मेरुदण्ड हुन् ।
एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०१७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ७ सय १५ विगाहा क्षेत्रफलमा फैलिने यो विमानस्थललाई आकर्षक बनाउन ब्युटिफिकेसनमा विशेष ध्यान दिने परियोजना प्रमुख ओम शर्माले अनलाइनखबरलाई बताए ।
भैरहवादेखि बुटवलसम्म बनिरहेको ६ लेनको व्यापारिक सडकलाई सर्वाधिक चासोका रुपमा पनि हेरिएको छ । मुलुककै ध्यान खिचेको यो सडकले भैरहवाको सुन्दरता बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ । अहिले नै भैरहवाको शहरी क्षेत्रमा ६ लेनको सडक निर्माण सम्पन्न भइसकेको छ ।
आकाशे पुलसहित बन्ने यो सडक मुलुककै ठूला सडकमध्येको एक हो । अहिले काठमाडौंकौ कोटेश्वरदेखि भक्तपुरको सूर्याविनायकसम्म ८ किलोमिटर सडक ६ लेनको छ । भैरहवाको वीच भागमा रहेको यो सडकले भैरहवालाई निकै फराकिलो र आकर्षक बनाएको छ ।
६ लेनको सडक परियोजनाका इञ्जिनियर लीलाबहादुर भण्डारीका अनुसार अहिलेसम्म भैरहवा र बुटवल क्षेत्रमा गरी ७.१ किलोमिटर सडक चौडा भइसकेको छ । मुलुककै नमूना सडक बनाउने लक्ष्य राखिएको यो सडक ०७४/०७५ सम्म सम्पन्न गर्ने लक्ष्य छ ।
भैरहवाको बुद्धचोक, देवकोटा चोक र आँखा अस्पताल जाने बाटोमा आकाशे पुल राखिने भएको छ । आकर्षक डिजाइनमा रहने आकाशे पुल अपांगमैत्री हुने भण्डारीले जानकारी दिए । आकाशे पुलको स्केच तयार भइरहेको छ । यो पुल बनेपछि नेपालकै पहिलो अपांगमैत्री पुल हुनेछ ।
विमानस्थलमा करिव ९ अर्ब रुपैयाँ लगानी गरेको एडीबीले भैरहवा शहरलाई व्यवस्थित तथा सुन्दर बनाउन पनि थप लगानी गरेको छ । भैरहवा नगर विकासमा एडीबीले पौने दुई अर्ब रुपैयाँ लगानी गरेको एकीकृत शहरी विकास आयोजनाका बरिष्ठ इञ्जिनियर एमलाल पाण्डे बताउँछन् ।यो पनि पढ्नुहोस्
‘६ विगाहा क्षेत्रफलमा ल्यान्डफिल बनाउँदैछौं, प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, एक महिनाभित्र काम सुरु गर्ने लक्ष्य छ’ आयोजना बरिष्ठ इञ्जिनियर पाण्डेले अनलाइनखबरसँग भने- ‘सबैभन्दा पहिला शहर सफा हुनुपर्यो, अनिमात्र अरु विकास निर्माणको कुरा आउँछ ।’
भैरहवाको धेरै ठाउँ वर्षातमा डुबानमा पर्छ । बढी डुबान हुने क्षेत्रमा ३२ किलोमिटर पक्की नाला बनाइँदैछ । २० किलोमिटर घाँस र फोहोर जमेको नाला सरसफाइ गरेर सहजै पानी बग्ने व्यवस्था मिलाइँदैछ ।
भैरहवा शहरको सुन्दरता बढाउन एडीबीले विशेष चासो दिएको छ । भैरहवा र लुम्बिनी क्षेत्रको एकीकृत विकास गरी वाषिर्क २० लाख पर्यटक भित्राउने एडीबीको लक्ष्य रहेको होटल व्यवसायी चन्द्रप्रकाश (सीपी) श्रेष्ठ बताउँछन् ।
भैरहवा शहरमा फराकिलो सडक निर्माण गर्ने, शहरमा हरियाली बनाउने, सरसफाई गर्न एडीबीले लगानी गरेको छ । अहिले एडीबीको सहयोगमा १३.३ किलोमिटर शहरी क्षेत्रको भित्री रोड भत्काएर स्तरोन्नति गरिँदैछ । शहरको गल्लामण्डी, मैत्रीपथ, नारायणपथ, चिल्ड्रेन पार्क रोड, उदयपुर रोड, जनक पथ र खजना पथ सडकको स्तरोन्नती काम भइरहेको छ ।
सडकको स्तरोन्नति गरेपछि छेउमा ग्रिनरी विकास गर्ने लक्ष्य राखिएको छ । शहरी क्षेत्रको सडक राम्रो र आकर्षक भएमा शहर त्यसै सुन्दर देखिन्छ । एडीबीले आफुले दिएको सहयोग राम्रोसँग सदुपयोग भएमा प्रोत्साहन स्वरुप रकम थपिदिन्छ ।
यहाँ पनि तोकिएको समयमा सम्पन्न हुनेगरी काम भइरहेको हुँदा एडीबी सकारात्मक देखिएको र रकम थपिदिने आशा रहेको बरिष्ठ इञ्जिनियर पाण्डेको भनाइ छ । पहिलो चरणको शहरी विकासको काम २०१७ को जुन ३० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाले एडीबीसँग दुई अर्ब रुपैयाँ थप सहयोग गर्न माग गरेको छ । यस विषयमा एडीबी पनि सकारात्मक रहेको बताइन्छ । यो सहयोग आएपछि थप ३५ किलोमिटर सडकको स्तरोन्नति गर्ने, उक्त सडकको छेउमा गि्रनरी विकास गर्ने, स्टेट लाइट जडान गर्ने, व्यवस्थित फुटपाथ बनाउने पाण्डेले बताए ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा शहरले काँचुली फेरिसक्ने पाण्डेको भनाइ छ । भैरहवाको सिद्धार्थनगर नगरपालिकाले पनि वाषिर्क ५/६ करोडको सडक मर्मत, नालीहरुको निर्माण, सरसफाइ लगायतका कामहरु गर्दै आएको छ ।
भैरहवाको बेलहिया नाकामा अहिले धेरै ट्रक तथा कन्टेनर थुपि्रँदा निकै साँघुरो र फोहोर देखिन्छ । यही कुरालाई मध्यनजर गरी सरकारले निर्माणाधीन एकीकृत भन्सार जाँचपास चौकीको ५२ विगाहा जमिनमा व्यवस्थित यार्ड बनाउँदै छ । यार्ड बनेपछि बाटोमा थुपि्रने सबै ट्रक तथा कन्टेनर यार्डमा रहनेछन् । जसले बाटो क्लियर तथा सफा हुने छ ।
यसका अलवा भैरहवा तथा लुम्बिनी क्षेत्रमा बुद्धिष्ट चक्रपथ बनाउने काम पनि अगाडि बढेको छ । यसले यस क्षेत्रको आकर्षण थप बढाउने छ । ९० किलोमिटर बुद्धिष्ट सर्किट रामग्राम, देवदह, मणिग्राम, फर्साटिकर, लुम्बिनी हुँदै गोरुसिंगेसम्म पुग्ने छ । यो सडक १३ मिटर चौडाइको हुने बताइएको छ । जसको ९ मिटर पिच गरिने छ भने बाँकी भागमा नाली र फुटपाथ निर्माण गरिने छ ।
भैरहवाबाट लुम्बिनी जाने सडक पनि चार लेनको बनाउने प्रस्ताव भइसकेको छ । अबको तीन/चार वर्षभित्रमा यो सडक पनि चार लेनमा स्तरोन्नती भइसक्ने बताइएको छ । अहिले यो सडक साँघुरो भइसकेको छ । मुख्य सडकसहित भित्री सडकहरु फराकिला भएपछि भैरहवा आकर्षक देखिने छ ।
भैरहवाको अर्को आकर्षण बन्नेछ, विशेष आर्थिक क्षेत्र (सेज) । नेपालको पहिलो सेजले भैरहवाको सुन्दरतामा सुगन्ध थप्ने काम गर्नेछ । सेज निर्माण कार्य सम्पन्न भइसकेको छ, उद्योग सञ्चालन गर्नमात्र बाँकी हो । अबको तीन/चार महिनाभित्र यहाँ उद्योग लगाउन सुरु हुनेछ ।
अहिले नगरपालिका रहेको ठाउँमा भव्य मल्टिप्रपोज भवन बनाउने बहस सुरु भएको छ । बुट मोडलमा निजी क्षेत्रलाई दिएर त्यहाँ ९/१० तलाको भवन बनाउने लक्ष्य लिइएको छ । ग्राउन्ड र फष्ट फ्लोरमा नगरपालिकाको अफिस राख्ने, बाँकी तलामा सपिङ सेन्टर, मल्टिप्लेक्स सिनेमा हल लगायत राख्न सकिन्छ । यसले सहरको सुन्दरता बढाउनुका साथै भैरहवा लुम्बिनी घुम्न आउने पर्यटकलाई समेत आकषिर्त गर्ने छ ।
भैरहवाको अर्को आकर्षण बनिरहेको छ, हेल्थ टुरिजम । यहाँ सुविधा सम्पन्न अस्पताल रहेका छन् । जुन भैरहवा शहरको आकर्षक पक्ष बनिरहेको छ । यहाँको आँखा अस्पतालमा भारत लगायतका देशबाट आँखा जँचाउन विरामीहरु आउँछन् । यहाँ हेल्थ टुरिजमको राम्रो विकास भइरहेको छ ।
भैरहवालाई मेडिकल हबका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । भैरहवालाई मेडिकल सिटीको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भवना छ । भारतसँग नजिक रहेको हुँदा यहाँ धेरै भारतीय विरामीलाई आकषिर्त गर्न सकिन्छ ।
लुम्बिनी आउने पर्यटक सबैभन्दा पहिला भैरहवा आउँछन । त्यही भएर भैरहवाको विकास अनिवार्य रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष रामकुमार शर्मा बताउँछन् । भैरहवादेखि नै पर्यटकले सुन्दर र शान्त वातावरणको महशुस गर्न पाउनुपर्ने उनको भनाइ छ ।
भैरहवामा अहिले सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नति गर्ने काम भइरहेको छ । रंगशाला पनि भैरहवाको महत्वपूर्ण आकर्षण बन्ने छ । अगामी केही वर्षमा सिद्धार्थ रंगशाला बन्नेछ र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु हुनेछन् । जसले भैरहवाको पहिचान थप बढाउने छ ।
अहिले रंगशालाको मैदानमा माटो फिलिङ गर्ने काम सकिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल बताउँछन् । पछिल्लो समय भैरहवा तथा लुम्बिनी क्षेत्रम तारे होटलहरु खोल्ने होडबाजी चलेको छ । झण्डै आधा दर्जन पाँचतारे होटल खोल्ने घोषणा भइसकेको छ । लगानी घोषणा भएका तीन र चारतारे होटलको संख्या दोब्बर छ ।
भोलिका दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलनहरु भैरहवा लुम्बिनी क्षेत्रमै आयोजना गर्न सकिने सम्भावना बढेको छ । यसले पनि भैरहवाको रौनकता थप्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।
![]() |








0 comments