कोसी ब्यारेज आतंकवादीबाट असुरक्षित छ भन्ने भारतीय भनाई शंकास्पद
11:05 PM![]() |
काठमाडौं, साउन १२ । इस्लामिक अतिवादी समूहले नेपाल–भारत सीमास्थित कोसी ब्यारेजमा आक्रमण गर्ने योजना बुन्दै गरेको भनी भारतले दिएको सूचनालाई सोझो अर्थमा मात्र बुझ्न नहुने परराष्ट्र मामिला जानकारहरुले बताएका छन् ।
आजको नागरिक दैनिकमा खबर छ – उक्त सूचना अत्यन्त गम्भीर र विचारणीय भएको जनाउँदै उनीहरुले यो सूचना र आउने प्रक्रिया अनुसन्धानको विषय भएको बताए ।
केपी ओली नेतृत्वको सरकार कामचलाउ बनेको र नयाँ सरकार गठन भइनसकेको अवस्थामा आतंकवादी आक्रमणजस्तो अति नै गम्भीर र समवेदनशील सूचना सबैभन्दा तल्लो तहबाट आउनुलाई सामान्य रुपमा लिन नहुने उनीहरुको बुझाइ छ ।
भारतले केही इस्लामिक अतिवादी समूहले कोसी ब्यारेजमा आक्रमण गर्न सक्ने भन्दै लिखित पत्र नै पठाएपछि स्थानीय प्रशासनले कोसी ब्यारेज क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । सुरक्षा निकायले जाँचपड्ताल समेत सुरु गरेको छ ।
‘सूचना प्रति समवेदनशील हुनैपर्छ, सम्बन्धित क्षेत्रमा सुरक्षा सतर्कता बढाउनु पर्छ,’ पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘यति गम्भीर र समवेदनशील विषयमा डिस्ट्रिक मेजिस्ट्रेड अफिसले पत्र किन लेख्यो भन्ने शंकास्पद छ, यसलाई सामान्य रुपमा लिन सकिदैंन ।’
गृहमन्त्रालयका अनुसार भारतको बिहार राज्य अन्तर्गत सुपौलका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रेड) ले वीरपुरस्थित सिंचाइ विभागलाई लेखेको पत्रमा उल्लेख छ, ‘इस्लामिक संगठन लस्करे तोएबा, जैस ए मोहम्मद तथा पाक मूलको भारतीय मुजाहिद्दीन समुहले महत्वपूर्ण प्रतिष्ठानमा लक्षित गरेर योजना बनाएको सूचना प्राप्त भएको छ । छिमेकी देश नेपालमा राजनीतिक अस्थिरता र नेपाली माओवादी नेताको भारतविरोधी गतिविधि मध्यनजर गर्दा प्रमुख प्रतिष्ठानमा प्रशासनिक सतर्कता र सुरक्षा कारवाही आवश्यक छ ।’
सुपौलका जिल्ला अधिकारीले विभागलाई लेखेको पत्रमा केसी ब्यारेजको सुरक्षामा खटिएका नेपाल प्रहरीको क्रियाकलापलाई पनि निरीक्षण गरेर प्रतिवेदन उपलब्ध गराउन भनिएको छ ।khabardabali

![]() |
0 comments