नेपाली सेना र एनआरएनबीच विपद् व्यवस्थापन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
9:07 AM![]() |
बुधबार जंगी अड्डामा आयोजित एक विशेष समारोहबीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नको लागि विपद् उद्धार कार्यमा सहयोग र विपद्लाई न्यूनिकरण गर्ने उद्देश्यले नेपाली सेना र गैरआवासीय नेपाली संघबीच सहकार्य गर्नको लागि नेपाल सरकार रक्षा मन्त्रालयबाट स्वीकृति भए बमोजिम उक्त हस्ताक्षर कार्यक्रमको आयोजना गरिएको हो ।
प्रधान सेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको तर्फबाट व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र गैरआवासीय नेपाली संघकोतर्फबाट अध्यक्ष शेष घलेले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।
उक्त समझदारी पत्रमा विपद् व्यवस्थापन सम्बन्धी तालिम संचालन गर्न तथा विपद्को समयमा उद्धार एवं राहत वितरणको लागि आवश्यक सामग्रीहरु आदान प्रदान गर्ने लगायत विपद् व्यवस्थापनको सहयोग तथा सहकार्यको क्षेत्रहरु निर्धारण गरिएको छ ।
त्यसैगरी, संयुक्त कार्यदलको निर्माण गरी सहयोगको क्षेत्र र आधारहरु तय गर्नेे, गैर अवासीय नेपालीहरुबाट संकलित राहत सामग्रीहरु पीडितलाई वितरण गर्न नेपाली सेनाको श्रोत, साधन तथा जनशक्तिको परिचालन जस्ता बुंदाहरु उल्लेख गरिएका छन् । साथै, उक्त समझदारी पत्रको कार्य अवधि २ (दुई) बर्षको हुने र दुवै पक्षको समझदारीमा पुनः थप गर्न सकिने समेत उल्लेख गरिएको छ ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यस किसिमको समझदारीले विपद्को समयमा खोज, उद्धार तथा राहत वितरण गर्र्न सहज हुनुका साथै पीडितहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास नेपाली सेनाले लिएको छ ।

![]() |
0 comments